२०८२ मंसिर २२, आईतवार ००:१८ गते
नेपाली समय

अग्रहरीले सार्वजनिक गरे बाचापत्र

२०७९ कार्तिक १९ गते, शनिबार समय: १८:०० मिनेट

बाँके –

Advertisement 1


बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन् । शनिबार नेपालगन्जमा पत्रकार भेटघाटको आयोजना गरी अग्रहरीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् ।


शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई मुख्य बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन । समस्या मात्र देखाएर आफूले जनतासंग साथ नमागेको बताउदै उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए । उनले बाँके जिल्लाको खस्कदै गएको अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफूले प्रतिनिधि सभामा उम्मेदवारी दिएको उल्लेख गरे ।

Advertisement 2


शिक्षा क्षेत्र सुधार


बालबालिकाहरुलाई विद्यालय स्तरबाट सूचना प्रविधि सम्बन्धी औपचारिक शिक्षा दिने र युवालाई सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको व्यवसायिक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका देशमा नेपालबाटै पीआर र वर्किङ भीषामा पठाउने व्यवस्था गरिनेछ । मदरसा, गुरुकुल र गुम्बामा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षाको रुपमा दैनिक कम्तीमा पनि १ घण्टा डिजिटल प्रविधिबाट शिक्षा दिइनेछ ।

Advertisement 3


सूचना प्रविधि क्षेत्र


नेपालगन्जमा दैनिक ३० मिनेट इन्टरनेट सेवा निःशुल्क गरिनेछ । नगरमा मासिक १५० रुपैयाँमा १०० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध गराइनेछ । नेपालगन्जमा यो सेवाको परीक्षण सुरु भइसकेको छ । अहिले १५०० जनाले निःशुल्क प्रयोग गरिरहेका छन्। यो सेवा नेपालगन्जवासीलाई निर्वाचनको नतिजा जेसुकैआए पनि उपलब्ध हुनेछ ।


स्वास्थ्य क्षेत्र


हरेक वडाका स्वास्थ्य संस्थामा मासिक रुपमा ५ रुपैयाँ मात्र शुल्क लिएर डाक्टरसहितको स्वास्थ्य टोली खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था गरिनेछ । खानेपानी संस्थानमा संसारकै उत्कृष्ट वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरि नेपालगन्जवासीलाई शून्य ब्याक्टेरिया भएको खानेपानीको व्यवस्था गरिनेछ ।


सुन्दर सहर


नेपालगन्जलाई सुन्दर हरित सहरको रुपमा विकास गरिनेछ । नगरमा ४० माइक्रोनभन्दा मुनीका प्लाष्टिकका झोला मुक्त गरिनेछ । प्लाष्टिकका झोलाको विकल्पमा कपडा र कागजका झोला उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ । नगरको छुट्टै पहिचान झल्काउन एकै किसिमका घर बनाउन प्रोत्साहन गरिनेछ ।


पर्यटन क्षेत्र


पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा पहल गरेर आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरिनेछ । सरकारी, सार्वजनिक, मठ–मन्दिर, पोखरीको जग्गा संरचनालाई संरक्षण गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरी नेपालगन्ज– दिल्लीलगायतका भारतका पर्यटकीय गन्तव्यसम्म सिधा उडानको लागि पहल गरिनेछ । भारतीय गाडी नेपालको भू–भागमा छिर्दा विशेष लाइसेन्स प्राप्त नेपाली सवारी चालकले मात्र चलाउन पाउनेव्यवस्था गरिनेछ ।


औद्योगिक क्षेत्र


विदेशबाट आयातीत वस्तुलाई नेपालमै एसेम्बल गर्ने कानुनी व्यवस्थाका लागि पहल गरिनेछ । निजी वनलाई कृषि वनको रुपमा मान्यता दिएर अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ । निजी वनबाट उत्पादन भएको काठलाई कृषि उपज सरह निर्बाधरुपमा ओसारपसार गर्न पाउने व्यवस्थाका लागि पहल गरिनेछ । आयात प्रतिष्थापन गर्न स्थानीय कच्चा पदार्थ भएका स्थानीय माग र आवश्यकता रहेका वस्तुमा आधारित उद्योग स्थापना गर्दा राज्यले सहुलियत, अनुदान वा सहयोग गर्ने वातावरणका लागि पहल गरिनेछ ।

सम्बन्धित समाचार