चुनावी मैदानमा होमिँदै गर्दा कसको प्रभाव कति छ भन्ने कुरामा संघठन, व्यक्तिगत प्रभाव, यसअघिको चुनाव जस्ता कुराले धेरै नै प्रभाव राखेको हुन्छ ।
Advertisement 1
निर्वाचन विश्लेषण
विक्रम बुढाक्षेत्री-बाँके
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा बाँके जिल्लाका सबै क्षेत्रमा चुनावी प्रतिस्पर्धा तीव्र गतिमा चलिरहेको छ । चुनावी प्रचारमा शक्ति प्रदशनीदेखि पैसाको खोला बगाउने काम पनि भएको सुन्नमा आएको छ । आफूलार्ई बलियो बनाउने दौडमा उम्मेदवारहरुले आफूले सक्ने कोसिस गरिरहेको पाइन्छ ।
यस अवस्थामा जिल्लाको केन्द्र तथा पश्चिमको ठूलो सहर नेपालगन्ज रहेको क्षेत्र नम्बर २ मा चुनावलाई लिएर चासो राख्नेको संख्या बाँकेमा मात्र नभएर अन्य जिल्लामा पनि रहेको छ । यस अवस्था परिणाम के हुन्छ भनेर आकलन गर्ने स्थिति भने छैन । तर केही आधारलाई विश्लेषण गर्ने हो भने चुनावको नजितालाई आकलन भने गर्न सकिन्छ ।
क्षेत्र नम्बर २ को कुरा गर्दा ५ जना स्वातन्त्र उम्मेदवारसहित ११ जनाले प्रतिनिधि सभालाई उम्मेदवार दिएका छन् । उम्मेदवारी दिएका मध्ये जसपाका उम्मेदवार पूर्वमन्त्री ईश्तियाक राई र राप्रपाबाट उम्मेदवारी दिएका नेपालगन्ज उप–महानगरपालिकाका पूर्वमेयर डा. धवल शमशेर राणाबीच कडा टकराब रहेको देख्न सकिन्छ भने । नेपाली कांग्रेसबाट उम्मेदवार सुदिप नरसिंह राणाको चुनावी माहोल पनि राम्रै रहेको पाइन्छ । यसका अलावा स्वातन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेदवार दिएका विनोदकुमार अग्रहरी, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका अब्दुल हन्नान जसगढ, जनमत पार्टीका बाबु खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश शर्मा अर्याल, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका खलुप्रसाद थारु, जनसमाजवादी पार्टीका लिलौ दर्जीले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । स्वतन्त्र उम्मेदवार दिएका बागेश्वर चौलागाई, राहुल जयसवाल, इरफान अहमद शेख, समसुल हक राई पनि चुनावी मैदानको पछि–पछि रहेका छन् ।
चुनावी मैदानमा होमिँदै गर्दा कसको प्रभाव कति छ भन्ने कुरामा संघठन, व्यक्तिगत प्रभाव, यसअघिको चुनाव जस्ता कुराले धेरै नै प्रभाव राखेको हुन्छ । यसर्थ मंसिर ४ गते हुने चुनावका लागि राई, राणा र त्यसपछि सुदिपको प्रतिस्पर्धा हुन्छ भनेर प्रष्ट भन्न सक्ने वातावरण रहेको छ ।
स्थानीय चुनावको आंकडा हेर्ने हो भने गठबन्धनले नेपालगन्ज उप–महानगरपालिकामा राम्रै मत ल्याएको थियो । सो समयमा कांग्रेसबाट प्रमुखमा उम्मेदवार दिएका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत पाएका थिए भने राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत पाएका थिए । उप–प्रमुखमा पनि जसपाका कमरुद्दीन राईले १७ हजार ९ सय ५० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवि ढकालले १० हजार ९ सय १५ मत र राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत पाएकी छिन् । तर प्रतिनिधि सभाका लागि नेपालगन्जमा कूल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् ।
यसरी हेर्दा राप्रपाबाट उम्मेदवारी दिएका डा.धवलले राप्रपा र एमालेको गरेर १८ हजारको मत अपेक्षा गरिरहँदा जसपा र कांग्रेसको गठबन्धनले स्थानीय तहमा पाएको २३ हजार मत बाडिने निश्चित छ । स्थानीय तहको मत आंकलन गर्दा राणालाई फाइदा हुने आशा देख्न सकिन्छ । अर्को अर्थमा नेपालगन्ज उप–महानगरपालिकामा डा. धवलले २०५४ र २०७४ गरी दुईपटक प्रमुख पद जितेका थिए ।
क्षेत्र नम्बर २ मा पर्ने डुडुवा गाउँपालिकाको कुरा गर्दा, यो पालिका २०७४ देखि यता कांग्रेसले जितेको छ । २०७९ को स्थानीय चुनावमा कांग्रेसले ६ हजार २ सय ७२ मत पाउँदा जसपाले ५ हजार १ एक सय २५ मत पाएको थियो ।
यसरी स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडि नेपाली कांग्रेस देखिन्छ । क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उप–महानगरपालिकाका बाँकी २१ वटा वडामध्ये जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३÷३ वटा वडा जितेको छन् । डुडुवाको कुरा गर्दा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको छ ।
प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकीकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।
तर चुनावका लागि कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणा नयाँ अनुहार हो । उनी हालसम्म कुनै पनि चुनावमा प्रतिस्पर्धी छैनन् । क्षेत्र नम्बर २ का लागि इश्तियाक र डा. धवलको तुलनामा सुदिपको उम्मेदवारीलाई यस क्षेत्रका जनताको कम मूल्यांकन रहेको पाइन्छ । यद्यपी उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ ।
अब २०७४ सालमा निर्वाचित भएका इश्तियाकको कुरा गर्दा उनी यसअघि पनि २०६४ सालमा चुनाव जितेका व्यक्ति हुन । त्यस्तै २०७० सालमा स्वार्गीय सुशील कौइरालासँग पराजित भएका थिए । यसका अलवा यतिबेला उनलाई पार्टीभित्रबाट केही व्यक्तिले साथ दिएका छैनन् । जसपाका केन्द्रीय सदस्यसमेत रहेका बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राईविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । पटक–पटक एउटै व्यक्तिलाई उम्मेदवार बनाउन नहुने उनको बुझाइ रहेको छ ।
त्यस्तै राणालाई पनि चुनावको नजिकमा धेही धक्का लाग्ने अनुमान गर्न सकिन्छ । राप्रपा जिल्ला उपाध्यक्ष एवम् केन्द्रीय सदस्य विन्दु चर्तीमगरले चुनावको मुखमै आफू पार्टीबाट निस्केको घोषित गरेकी छिन् । उनले २०७९ को स्थानीय चुनावमा उपप्रमुखका लागि १० हजार १ सय २५ मत ल्याएकी थिइन् । केही व्यक्तिहरु विन्दुको यो निर्णयले डा.धवललाई आउने मतमा केही कम हुन सक्ने अनुमान लगाउन सुरु गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्