२०८३ बैशाख ६, आईतवार ११:५१ गते
नेपाली समय

गहतराजको बिरासत जोगिने आशा

२०७९ कार्तिक २६ गते, शनिबार समय: ०९:२९ मिनेट

निर्वाचन विश्लेषण
विक्रम बुढाक्षेत्री –बाँके

Advertisement 1


जिल्लाको क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्र्दछ । सो क्षेत्रबाट प्रतिनिधि सभाका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये निकटतम प्रतिस्पर्धी चर्चित नाम भनेको गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का एकल उम्मेदवार महेश्वर जंग गहतराज र नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल हुन् । महेश्वर भर्खर खेलकुद मन्त्री पद सम्मालेर आएका व्यक्ति हुन भने ढकाल हालसम्म कुनै पनि निर्वाचनमा होमिएका छैनन् । उनी नेकपा एमालेको पूर्व जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य हुन् ।


क्षेत्र नम्बर १ को विगत २०७४ सालपछिको राजनीतिक अवस्था हेर्ने हो भने कोहलपुरमा एमालेपछि हाल नेपाली कांग्रेसले प्रभुत्व जमाएको छ । राप्ती सोनारीमा दुवै कार्यकाल नेपाली कांग्रेसले नेतृत्व गरेको छ भने नरैनापुरलाई दुवै कार्यकाल जसपाले आफ्नो हातबाट फुत्किन दिएको छैन ।

Advertisement 2


२०७९ को स्थानीय तहको निर्वाचन हेर्दा कोहलपुरमा नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित १५ वटा वडासहित बहुमत जितेको छ । स्थानीय चुनावको भोटलाई आधार मान्ने हो भने प्रतिनिधि सभाका लागि कोहलपुरमा नेपाली कांग्रेसले पाएको १४ हजार १ सय ३४ र मोओवादीले पाएको ९ हजार ७ सय २५ मत जोड्दा प्रतिनिधि सभाका लागि गठबन्धका उम्मेदवारलाई कोहलपुरबाट कूल २३ हजार ८ सय ५९ मत आउने आशा हो । त्यस्तै एमालेले १२ हजार २ सय ५ मत र राप्रपाले पाएको २ हजार ३ सय ६६ मत गर्दा १४ हजार ५ सय ७१ मत हुन आउँछ ।


राप्ती सोनारीको कुरा गर्दा एमालेको उपस्थिति न्यून भएको पालिकाको रुपमा चिनिन्छ । २०७४ पछिका चुनावमा एमाले तेस्रो पार्टी बन्दै आएको छ । यस पटकको स्थानीय चुनावमा २४ हजार बढी मतदाता रहेको राप्ती सोनारीमा गठबन्धनको मत जोड्दा १९ हजार बढी हुन आउँछ ।

Advertisement 3


नरैनापुरमा भने जसपाले नेतृत्व गर्दै गर्दा नेपाली कांग्रेस दुवैपटक दोस्रो भएको छ । यसपटक जसपाले ५ हजार ३७ मत ल्याउँदा कांग्रेसले ३ हजार ६ सय ८५ मत पाएको थियो भने एमालेले २ हजार ८ मत पाएको अवस्था हो ।


यसरी मतगणनाको अवस्था हेर्दा गठबन्धनका उम्मेदवार गहतराजले ४८ हजार मत पाउने गठबन्धनको आशा छ भने एमालेका ढकालका लागि २४ हजार मतको आकलन हो । तर स्थानीय भने एमालेले प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय तहको भन्दा बढी मत ल्याउने आकलन गर्छन् । त्यसमा पनि राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेदवार दिएका आनन्द बाबु काफ्लेले गठबन्धनको केही भोट काट्ने आकलन गरिन्छ ।


गहतराज र ढकालको व्यक्तिगत प्रभावको कुरा गर्दा क्षेत्र नम्बर १ मा ढकाल भन्दा गहतराज परिचित व्यक्ति हुन् । त्यसैमा ढकाल पहिलोपटक चुनावी माहोलमा होमिएका व्यक्ति हुन् ।


तीन ठूला दल मध्ये दुई दलले गहतराजलाई सघाई रहँदा उनको बिरासत जोगिने आशा देखिन्छ ।

सम्बन्धित समाचार