२०८२ मंसिर २२, आईतवार २१:४० गते
नेपाली समय

पद लिएर पदलाई न्याय गर्न सक्नुपर्छ : राठौर

२०७९ मंसिर १३ गते, मंगलवार समय: १७:५९ मिनेट

बाँके –

Advertisement 1


नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलबार पार्टी कार्यालय नेपालगन्जमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए ।


‘पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ,’ उनले भने, ‘दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।’ उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

Advertisement 2


बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्नेगरी आफूले काम गर्ने बताए ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विजयी भएका उम्मेदवाहरुलाई बधाई ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गरे ।


पार्टी सभापति नारायणप्रसाद गौडेलले सिट बाँडफाँड र टिकट वितरणमा ढंग नपुर्याउँदा गठबन्धनले साचे अनुरुपको परिणाम ल्याउन नसकेको बताए । उनले यसअघिका चुनावमा पार्टीलाई घात गरेको आरोप लागेर कारावाहीका लागि सिफारिस भएका नेताहरुलाई समानुपातिकतर्फ सांसद बनाउन नहुनेमा जोड दिए ।

Advertisement 3


सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित सदस्यद्वय बादशाह कुर्मी र कृष्णा केसी नमुना लगायतले बोलेका थिए ।


कार्यक्रममा नवनिर्वाचित राठौर, कुर्मी र नमुनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

सम्बन्धित समाचार