२०८२ कार्तिक २८, बिहीबार ११:४६ गते
नेपाली समय

प्रहरीद्वारा रविको नागरिकता र राहदानीको विवरण माग

२०७९ मंसिर २० गते, मंगलवार समय: १७:५१ मिनेट

काठमाडौं–

Advertisement 1


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानीको विवरण प्रहरीले अमेरिकी दूतावाससँग मागेको छ ।
यसअघि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ ।


लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ । लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो ।

Advertisement 2


लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए । यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो । आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो । त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो ।


उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो । प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए ।

Advertisement 3


विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ ।

सम्बन्धित समाचार