बाँके –
Advertisement 1
सरकारले टीकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी अध्यादेश ल्याएपछि पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् । राज्यबाटै न्याय मार्ने काम हुन थालेको उनीहरूले गुनासो गरेका छन् ।
‘आफ्नो स्वार्थ र सत्ता टिकाउन अपराधीलाई छुटाउन खोज्नु पनि अपराध नै हो,’ टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदाले भनिन्, ‘हामीले न्याय पाउनेभन्दा पनि झन् पीडा बढाउने काम भयो ।’ उनको घर कञ्चनपुरको बेलौरी नगरपालिका हो । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । सरकार गठनका बेला जहिल्यै पनि यस्तै हुने गरेको र पीडितको पीडामाथि खेलवाड हुने गरेको उनले बताइन् । ‘दुई तहको अदालतबाट फैसला भएर सर्वोच्चमा विचाराधीन मुद्दामा सरकारले यसरी अगाडि बढ्नु हुँदैनथ्यो,’ उनले भनिन्, ‘हामी जहिल्यै पीडित नै रहने र न्याय पनि पाउन नसकिने भयो ।’
Advertisement 2
टीकापुर घटनामा मृत्यु भएका अर्का प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानुले पनि गलत काम गर्नेलाई सरकारले संरक्षण गर्न नहुने बताइन् । ‘राज्यका लागि खटिने सुरक्षाकर्मी र तिनका परिवारले न्याय नपाए यहाँ अरूले न्यायको कसरी आस गर्ने ?’ उनले भनिन्, ‘सरकार गठनका बेला हाम्रो पीडा बल्झाइन्छ, राज्यले नै दुःख दिने काम गर्छ ।’ २०७२ भदौ ७ गते ८ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि उनी जेलमा छन् ।
साभार – कान्तिपुर





प्रतिक्रिया दिनुहोस्