२०८२ फाल्गुन ४, सोमबार ०८:११ गते
नेपाली समय

लुम्बिनीमा २२ दलको धरौटी जफत

२०७९ मंसिर २८ गते, बुधबार समय: १७:१० मिनेट

धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलसहित प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको हो ।

Advertisement 1

बाँके –


निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणाम घोषणा गरेको छ । समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य निर्वाचन अयोगले सम्पन्न गरेको हो ।

Advertisement 2


आयोगले घोषणा गरेको निर्वाचन परिणामअनुसार लुम्बिनी प्रदेशका २२ दलले राखेको धरौटी जफत भएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलसहित प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको हो ।


समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

Advertisement 3


प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नम्बर १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

आयोगले तयार गरेको निर्वाचन परिणाममा प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कूल ८ सय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १ सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् भने प्रदेश सभातर्फ पुरुष ३ सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २ सय जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।


प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।


प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २ सय २५ र पुरुष २ हजार १ सय ८६ गरी २ हजार ४ सय ११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १ सय ८७ र पुरुष १ हजार १२ गरी २ हजार १ सय ९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
त्यसैगरी प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २ सय ८०, पुरुष २ हजार ९ सय ४३ र अन्य १ गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कूल ३ हजार ७ सय ८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । यसअनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि कूल उम्मेदवारको संख्या जम्मा ११ हजार ५ सय ४२ रहेको थियो ।


प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५ सय ७९, पुरुष ९१ लाख ४० हजार ८ सय ६ र अन्य १ सय ८५ गरी कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्ये अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेका थिए ।


देशभरीका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार ८ सय ९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।


त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप १४१ अस्थायी मतदान स्थलहरूको समेत व्यवस्था गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको छ ।


सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।


प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५ सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो ।


सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।


प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेबमोजिम प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७ सय ७२ र महिला १ सय ८९ गरी जम्मा १ हजार ९ सय ६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य १ गरी जम्मा २ हजार ३ सय २४ जना गरी जम्मा ४ हजार २ सय ८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ ।


प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५ सय ५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार