२०८२ फाल्गुन ४, सोमबार ०७:०५ गते
नेपाली समय

पशुचौपाया व्यवस्थापनका लागि दीर्घकालीन योजना खोज्दै नेपालगन्ज

२०७९ पुष १० गते, आईतवार समय: १६:११ मिनेट

विक्रम बुढाक्षेत्री / बाँके

Advertisement 1


छाडा पशुचौपाया सबैंका लागि समस्याको विषय बनेको छ । विशेषत जनघनत्व बढ्दै गएको नेपालगन्ज सहरमा छाडा पशुचौयाका कारण दुर्घटना निम्तिरहेका छन् भने उत्तिकै मात्रामा सडकमा छाडा पशुचौपाया देखिरहेका हुन्छन् ।


नेपालगन्जका लागि छाडा पशुचौपाया व्यवस्थापनको स्थल कांजी हाउसमात्र हो । नेपालगन्जले सडकमा देखिने छाडा पशुचौपायालाई कांजी हाउसमा व्यवस्थापन गर्दै आएको छ । तर कांजी हाउस भने नेपालगन्जका लागि दीर्घकालीन योजना भने होइन ।

Advertisement 2


विगत १ महिनामा मात्रै नेपालगन्ज उप–महानगरपालिकाले सडकमा देखिएका ८४ वटा छाडा पशुचौपायालाई कांजी हाउसमा लगेर राखेको छ । जसमा घोडा, खच्चर र गोरु भने सम्बन्धित व्यक्तिले लग्ने गरेता पनि गाई भने कसैले नलग्ने गरेको नेपालगन्ज नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।


बोगटी भन्छन्, ‘घोडा, खच्चर लग्ने वित्तिकै तिनीहरुका मालिक आएर जरिवाना तिरेर लगिहाल्छन् । तर गाई भने कसैले लादैनन् । कुनै संस्थाले पनि केही छाडा पशुचौपाया लाने गरेको छ ।’ नेपालगन्जले छाडा पशुचौपायाको लागि प्रतिदिन १ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको उनले बताए ।

Advertisement 3


कांजी हाउसका विषयलाई लिएर बेला–बेलामा विरोध पनि आइरहेका छन् । कतिपय व्यक्तिहरु कांजी हाउसलाई बधशालाको रुपमा टिप्पणी गर्छन् भने कतिपय व्यक्ति छाडा पशुचौपायाका लागि चरणसहितको दीर्घकालीन योजना नेपालगन्जले बनाउनुपर्ने सुझाव दिन्छन् ।


कांजी हाउसका विषयमा छाडा पशुचौपाया व्यवस्थापनका दीर्घकालीन विकल्प नभएको नगर प्रमुख प्रशान्त विष्टको पनि तर्क रहेको छ । उनीले भूगोल खबरसँग कुरा गर्दै पशुहरु स्वस्थ्य रहन स्वयम् चरणसहित हिँड्डुल गर्ने स्थान हुनेपर्ने बताउँछन् ।


‘कांजी हाउस भनेको अस्थायी विकल्पमात्र हो । त्यहा त सडकमा रहेका पशुचौपायालाई केही दिनका लागि राख्ने स्थानमात्र हो,’ नगर प्रमुख विष्टले भने, ‘सधैंभरी गाई÷वस्तुलाई भुस, पराल खुवाएरमात्र हुँदैन । तिनीहरुलाई चरणको पनि व्यवस्थापन गर्नु पर्छ । जुन हामीसँग अभाव रहेको छ ।’ विष्ट गाई÷वस्तु स्वस्थ्य रहन दैनिक १०÷१५ किलोमिटर हिँड्डुल गर्ने स्थान हुनुपर्ने बताउँछन् ।

छाडा चौपाया व्यवस्थापन गर्दै नेपालगन्ज । फाइल तस्बिर


दीर्घकालीन योजनाका लागि नेपालगन्ज र राप्ती सोनारीबीच छलफल


नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट छाडा पशुचौपाया व्यवस्थानको दीर्घकालीन योजना खोज्दै आइतबार राप्ती सोनारी गाउँपालिका पुगेका छन् । उनीले छाडा पशुचौपायाको व्यवस्थापनका लागि राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलसँग प्रारम्भिक छलफल गरेका हुन् ।


छाडा पशुचौपायाका कारण नेपालगन्जमा दुर्घटनाको जोखिम बढिरहेको छ भने राप्ती सोनारीमा किसानले लगाएका खेती÷बाली नष्ट हुने समस्या विद्यमान नै छ । राप्ती सोनारीले १, २, ४, ८, ९ नम्बर वडामा गौशालाको काम गरिहेको छ ।


आइतबार विष्ट र पौडेलले वडा नम्बर २ र ९ को अवलोक गर्दै कसरी छाडा पशुचौपायाको दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । प्रमुख विष्टले नेपालगन्ज र राप्ती सोनारीमा रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्नका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने विषयमा प्रारम्भिक छलफल भएको बताए ।


उनले भने, ‘राप्ती सोनारीमा धार्मिक वनहरु रहेका छन् र राप्ती सोनारीले पनि छाडा पशुचौपाया व्यवस्थानका लागि काम गरिरहेको छ । यसमा हामीले पनि केही सहकार्य गरेर अल्पकालीन विकल्प खोज्ने र पछि त्यसका लागि दीर्घकालीन योजना बनाउने प्रयास हाम्रो हो ।’


विष्ट छाडा पशुचौपाया भविष्यमा ठूलो समस्याको रुपमा देखा पर्ने बताउँदै अहिलेदेखि नै त्यसको विकल्प खोज्नतर्फ आफूहरु लागि परेको बताउँछन् ।


अध्यक्ष पौडेल पनि छाडा पशुचौपाया गम्भिर समस्याको रुपमा देखा पर्दै गएको बताउँछन् । उनले भने, ‘हामीले छाडा पशुचौपाया व्यवस्थापनमा काम गर्दै आए पनि यसलाई अझ व्यवस्थित व्यवस्थापनका लागि नेपालगन्जसँग प्रारम्भिक छलफल भएको हो । यसमा नेपालगन्जले पनि आफ्नोतर्फबाट हुनसक्ने सहयोग गर्ने कुरा विष्ट जीले गर्नु भएको छ ।’


नेपालगन्जले आफूहरुसँग खुल्ला स्थान नभएका कारण राप्ती सोनारीसँग छलफलको प्रक्रिया अघि बढाएको हो भने राप्ती सोनारीले दुवै पालिकाबीचको सहकार्यबाट दीर्घकालीन छाडा पशुचौपाय व्यवस्थापनको बाटो खोज्ने प्रयासमा रहेको उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार