नरैनापुरदेखि भारतीय बजार नजिकै रहेको छ र नेपालमा भन्दा भारतीय बजारमा तेलको मूल्य सस्तो भएका कारण धेरै स्थानीय तेलका लागि भारतीय बजार जाने गरेका छन् ।
Advertisement 1
विक्रम बुढाक्षेत्री–बाँके
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा रहेको ईलाका प्रहरी कार्यालयमा २ वटा मोटरसाइकल छन् । जनताको सेवामा खटिने ती मोटरसाइकलमा प्रयोग हुने पेट्रोल ईलाका प्रहरीले हाल नरैनापुरमा सहजै पाइरहेको छ । तर एक वर्षअघिको कुरा गर्ने हो भने ईलाका प्रहरीलाई मोटरसाइकलमा पेट्रोल हाल्न की त नेपालगन्ज आउनु पथ्र्यो की त नरैनापुरमा खुल्लारुपमा पाइने २० देखि २५ रुपैयाँ महंगो तेल हाल्नु पर्ने बाध्यता थियो ।
Advertisement 2
ईलाका प्रहरी कार्यालय नरैनापुर इन्चार्ज प्रहरी नायव निरीक्षक डबलबहादुर विष्ट विगतमा २ सय रुपैयाँसम्म पाइने पेट्रोल प्रयोग गरेको बताउँछन् ।
ईलाका प्रहरी जस्तै गाउँपालिकामा रहेका सवारीसाधनलाई पनि ‘नमुना पम्प’ले धेरै नै राहत दिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ मा स्टार रिफ्युलिंङ सेन्टर नामबाट ‘नमुना पम्प’ खुलेपछि समग्र नरैनापुर क्षेत्रका जनतालाई धेरै नै राहत पुगेको छ ।
Advertisement 3
वडा नम्बर ५, मटैयाका स्थानीय रामधन यादव विगतमा लुकिछिपि भारतबाट तेल ल्याउने गरेको बताउँँछन् । उनले भने, ‘पहिला २÷३ सय भाडा तिरेर नेपालगन्ज जानु पथ्र्यो । कहिले काँही त डिजल नहुँदा गाडी खेतमा हुन्थ्यो । अहिले जति चाहियो त्यति तेल किन्न सजिलो भएको छ ।’
नरैनापुर गाउँपालिकाका अध्यक्षा ईश्तियाक साह पनि नरैनापुरमा खुलेको ‘नमुना पम्प’ले समग्र गाउँपालिकालाई सहज बनाएको बताउँछन् ।
नरैनापुरमा पम्प खुलेपछि खुल्लारुपमा तेल बिक्री गर्ने ब्यापारीको बिक्री पनि घटेको छ । खुलारुपमा तेलको ब्यापार गर्दै आएक वडा नम्बर ५ का ब्यापारी अहेमद पहिला १० लिटरभन्दा बढी तेल बिक्री हुने गरेता पनि आजकाल दैनिक २÷३ लिटर पनि तेल बिक्री नहुने गरेको बताउँछन् ।
बाँकेको पहिलो ‘नमुना पम्प’
नरैनापुरमा खुलेको स्टार रिफ्युलिंङ सेन्टर नामक ‘नमुना पम्प’ बाँके जिल्लाकै पहिलो र एकमात्र नमुना पेट्रोल पम्प हो । जसका संचालक हुन्, खजुरा गाउँपालिका वडा नम्बर ८ का स्थानीय अल्ताफ खाँ । खजुराका खाँ नरैनापुर क्षेत्रमा पम्प खोल्ने पहिलो व्यक्ति हुन् । र हाल पनि नरैनापुर क्षेत्रमा एउटामात्र उनको पम्प रहेको छ ।
‘नमुना पम्प’ खोल्नको लागि कम्तीमा २० कट्ठा जग्गाको आवश्यक पर्छ । साथै ‘नमुना पम्प’को लागि ४ वटा पम्प, रेष्टुरेन्ट, ग्यारेज, एटिएम, ५ वटा शौचालय, मोबाइल बैंकिङ, इन्टरनेटको सुविधा हुनुपर्छ । यी सबै कुरा स्टार रिफ्युलिंङ सेन्टरमा रहेको छ ।
जिल्लामा रहेको अन्य पम्पहरुमा यी सुविधा उपलब्ध हुँदैनन् । यसर्थ स्टार रिफ्युलिंङ सेन्टर बाहेक जल्लामा रहेका सबै पम्प साधारण हुन् ।

दैनिक कारोबारमा वृद्धि
स्टार रिफ्युलिंङ सेन्टर ‘नमुना पम्प’ संचालन गर्नका लागि ३ करोड रुपैयाँ लगानी गरिएको खाँले बताए । सुरुमा सामान्य तेल बिक्री भएता पनि हाल दैनिक कारोबार बढ्दै गएको उनीले बताए । हाल दैनिक ३ सय ५० लिटर पेट्रोल र करिब ४ लिटर डिजल बिक्री भइरहेको उनले जानकारी दिए ।
अझै पनि भारतमै जान्छन् स्थानीय
नरैनापुर क्षेत्रमा रहेको एउटामात्र पम्पबाट दैनिक १ हजार लिटर तेल पनि बिक्री नहुनु स्वभाविक भने पक्कै होइन । खुला सीमानाको प्रभाव नरैनापुरमा पनि देखिन्छ ।
नरैनापुरदेखि भारतीय बजार नजिकै रहेको छ र नेपालमा भन्दा भारतीय बजारमा तेलको मूल्य सस्तो भएका कारण धेरै स्थानीय तेलका लागि भारतीय बजार जाने गरेका छन् । साथै केही ब्यापारीले पनि भारतबाट तेल ल्याएर नरैनापुरमा बिक्री गरिहेका छन् ।
स्टार रिफ््युलिंङका संचालक खाँ नेपालभन्दा करिब २४ रुपैयाँ सस्तोमा भारतीय बजारमा तेल पाउने गरेकाले स्थानीय अझै पनि भारतीय बजारमा जाने गरेको बताउँछन् । उनले भने, ‘नेपालभन्दा भारतमा करिब २४ रुपैयाँ तेल सस्तो छ । हाम्रो पम्प नजिकका स्थानीयले यहाँबाट तेल हाले पनि अलि टाडाका स्थानीय तेल हाल्नका लागि भारत जाने गरेका छन् ।’ खाँ यदि नेपाल र भारतमा तेलको मूल्य समान भए सबैले नेपालमै तेल खरिद गर्ने बताउँछन् ।






प्रतिक्रिया दिनुहोस्