२०८२ मंसिर २२, आईतवार १४:३६ गते
नेपाली समय

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण

२०७९ पुष २७ गते, बुधबार समय: १५:१९ मिनेट

बाँके –

Advertisement 1


विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो । तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १.७ प्रतिशतमा सीमित हुने अपेक्षा गरेको छ ।


प्रतिवेदनले युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारणले गर्दा विश्व अर्थतन्त्रमा संकट आएको उल्लेख गरेको छ ।

Advertisement 2


यसबाहेक आउँदो मन्दीको अर्को मुख्य कारण उच्च ब्याज दर पनि हो। निरन्तर बढी रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदै लगेका छन् । उच्च ब्याजदरको प्रभावलाई निस्तेज गर्न विश्वभरका नीति निर्मातालाई ठूलो चुनौती थपिएको छ ।


विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो मन्दी विश्वव्यापी हुने र विश्वका लगभग सबै भागमा मानिसको आम्दानीमा वृद्धि ‘कोभिड–१९ अघिको दशकको तुलनामा सुस्त हुने’ बताएका छन् ।

Advertisement 3


सन् २००९ को विश्वव्यापी वित्तीय संकट र कोभिड–१९ महामारीलाई पन्छाउने हो भने सन् १९९१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो । आर्थिक वृद्धि सन् २०२२ मा ३.२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो ।


विश्व बैंक अनुसार अमेरिका, यूरोपेली देशहरू (यूरोजोन) र चीन – आर्थिक वृद्धिका लागि विश्वका तीन सबैभन्दा प्रभावशाली क्षेत्रहरू ‘सबै स्पष्ट रूपमा कमजोर अवधिबाट गुज्रिरहेका छन् ।’ जस कारण गरिब देशहरूले सामना गर्ने समस्याहरू झन–झन बिग्रँदैछ ।


महामारीबाट बाहिरिँदै गरेको वर्ष सन् २०२१ मा ५.३ प्रतिशतले भएको विश्वका धनाढ्य देशहरूको आर्थिक वृद्धिदर गत वर्ष झरेर २.५ प्रतिशतमा सिमित भएको थियो । यस वर्ष आर्थिक वृद्धिदर तीव्र रूपमा सुस्ताउँदै केबल ०.५ प्रतिशतमा सीमित भएको छ ।


विगत दुई दशकमा आर्थिक वृद्धिदरमा आएको तीव्र गिरावटले विश्वव्यापी मन्दीको पूर्वचित्रण गरेको विश्व बैंकले चेतावनी दिएको छ । साथै बैंकले मन्दी तीव्र तथा लामो समयसम्म चल्ने पनि अनुमान गरेको छ ।


यदि यो वर्ष विश्वव्यापी आर्थिक मन्दी आयो भने, सन् १९३० पछि एउटै दशकमा दुईवटा विश्वव्यापी मन्दी आएको यो पहिलो पटक हुनेछ ।


उच्च मुद्रास्फीति विश्वव्यापी अर्थतन्त्र संघर्ष गर्नुको मुख्य कारण हो। रूस–युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा ठूलो धक्का पु¥यायो । साथै यसै युद्धका कारण पश्चिममा देशहरू रुसी फोसिल इन्धनबाट टाढा धकेलिन पुग्यो। जस कारण गत वर्ष विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न पुग्यो ।


अहिले भने यी दबाबहरूमा केही सुधार आएसँगै विश्व बैंकले मूल्यवृद्धिको विश्वव्यापी गति गत वर्षको ७.६ प्रतिशतबाट यो वर्ष ५.२ प्रतिशतसम्म कम हुने अपेक्षा गरेको छ ।


यद्यपि, केही ‘मूल्य स्पाइक’ भने हुन सक्ने विश्व बैंकको विश्लेषण छ । विश्व बैंकले ऊर्जाको मूल्य सामान्य रूपमा घट्ने अपेक्षा गरेको छ । विश्वव्यापी उत्पादनमा भएको वृद्धि र युरोपमा रहेको कम मागलाई औंल्याउँदै सो अनुमान गरेको हो। युरोपमा आएको ऊर्जा संकटलाई मध्यनजर गर्दै व्यवसाय र घरपरिवारलाई ग्यासको प्रयोग घटाएका छन् ।


यस वर्ष खाद्यान्न तथा बालीको मूल्य पनि पाँच प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । यद्यपि यो मूल्य केही वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च हुने बताइएको छ। गत वर्ष बालीको मूल्य १३ प्रतिशतले बढेको थियो ।


केही सुधारका बाबजुद विश्व बैंकले मुद्रास्फीति सामान्यतया स्वस्थ मानिने २ प्रतिशत दर भन्दा माथि रहने अनुमान गरेको छ ।


साभार : विजमाण्डु

सम्बन्धित समाचार