२०८२ माघ ८, बुधबार ०३:२४ गते
नेपाली समय

निःशुल्क स्वास्थ्य सेवा दिँदै राप्ती सोनारी

२०७९ माघ १ गते, आईतवार समय: ०९:१७ मिनेट


बाँके –

Advertisement 1

बाँकेको राप्ती सोनारी गाउँपालिकाले पालिकामा रहेका ९ वटैवडा कार्यालयमा निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिएको छ । सबै वडा कार्यालयमार्फत पालिकाले नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन निःशुल्क शिविरलाई प्राथमिकता दिएको पालिका अध्यक्ष पप्तबहादुर पौडेलले बताए ।

पालिकाले निःशुल्क शिविर कार्यक्रमअन्तर्गत शनिबार वडा नम्बर १ मा शिविरको आयोजना गरेको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राविधिक र राप्ती सोनारीको आर्थिक सहयोगमा वडा नम्बर १ मा २ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जनकारी गराए । शनिबार डा.मधु अर्याल, डा हेमराज अभिकारीलगायत १७ जना स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई चेकजाँच गरेको केसीले बताए ।

Advertisement 2

पालिकाले संचालन गरेको शिविरमा चेकजाँचमात्रै नभएर औषधि वितरण, भिडियो एक्सरे, ल्याब जाँचसमेत गरिएको छ । शिविरमा ६७ जनाको भिडियो एक्सरे गरिएको छ भने ६५ जनाको ल्याब टेस्ट गरिएको केसीले जानकारी गराए । साथै शिविरमा २ लाख रुपैयाँभन्दा बढीको औषधि वितरणसमेत गरिएको छ ।

पालिकाले आर्थिक वर्ष २०७९-८० ‘बा–आमा संरक्षण कार्यक्रम’ अन्तर्गत संचालन गरेको यस शिविरबाट गत आइतबार पनि वडा नम्बर ७ मा संचालन गरेको शिविरबाट एकैदिन ४ सय १३ जनाको चेकजाँच गरिएको थियो । सो शिविरबाट ५३ जना विभिन्न रोगका बिरामीलाई थप उपचारका लागि प्रेषण गरिएको थियो ।
पालिका बाँकी रहेको अन्य ७ वडा कार्यालयमा पनि छिट्टै निःशुल्क शिविर संचालन गर्दैछ ।

Advertisement 3

पालिका अध्यक्ष हरेक वर्ष यो शिविरलाई निरन्तरता दिने बताउँछन् । उनी आवश्यकतअनुसार निःशुल्क शिविरलाई थपसमेत गर्न सकिने बताउँछन् ।

सम्बन्धित समाचार