खजुरा।२०७८ जेठबाट एक वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी सुरु गरिएको भवन निर्माणको योजना तीन वर्ष बित्दा पनि निर्माण कम्पनी एमके जुगल जेभीले काम सक्न सकेको छैन । निर्माण कम्पनीका कारण भवन समयमै निर्माण नहुँदा सेवाग्राहीहरूले मात्रै होइन, जनप्रतिनिधि र कर्मचारीले समेत सास्ती पाइरहेका छन।
Advertisement 1
खजुरा गाउँपालिकाको कार्यालयमा पुग्दा गेटमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको नाम देखेर नझुक्किनुहोला । उक्त गेटभित्र रहेका टहरा र भवनमा अहिले पनि खजुरा गाउँपालिकाकै काम कारबाही हुने गर्छ । जुन भवन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई दिने भनेर गाउँसभाले निर्णय गरिसकेको छ । उता गाउँपालिकाको गौरवको योजनाअन्तर्गत प्रचार गरिएको नयाँ प्रशासनिक भवन तोकिएको समयभन्दा दुई वर्ष ढिला भइसक्दा पनि निर्माण पूरा भएको छैन ।
गाउँपालिकाले सुरुवातदेखि नै साविकको बागेश्वरी गाविसको भवनबाट सेवा प्रदान गर्दै आएको छ । नागरिकहरूलाई पनि नयाँ भवन निर्माणमा ढिलाइ हुँदा सेवा लिन समस्या भइरहेको छ । खजुरा–३ बी गाउँमा २०७८ जेठबाट एक वर्षमा निर्माण सम्पन्न गरिसक्नेगरी सुरु गरिएको उक्त भवन निर्माणको योजना तीन वर्ष बित्दा पनि पूरा भएको छैन । भवन निर्माणमा ढिलाइ हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा असहजता आइरहेको छ भने अहिले कार्यसञ्चालन भइरहेको भवन प्रयोगका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयले ताकेता गरिरहेको छ ।
Advertisement 2
विश्वविद्यालयले पदाधिकारीहरूको कार्यकक्ष राख्नेगरी उक्त भवन प्रयोग ल्याउन पर्खेर बसेको विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारी बताउँछन् । गेटमा विश्वविद्यालयको नाम लेखिसकिएको छ । गाउँपालिकाले भवन दिने भनेर निर्णय गरिसकेपछि आफूहरू उक्त भवन प्रयोगमा ल्याउनका लागि पर्खिरहेको भण्डारीले बताए ।
नयाँ भवनमा सर्नका लागि गाउँपालिका कति आत्तिएको छ भन्ने उदाहरण गत वर्ष नै निर्माणाधीन भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष सारेर उद्घाटन गर्नु हो । २०८० असोजमा निर्माणाधीन भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष सारियो । हाल अध्यक्ष र उपाध्यक्षहरू दुवै ठाउँको कार्यकक्षमा बस्ने गरेका छन् । त्यसो हुँदा नागरिकहरू उनीहरूलाई भेट्न जाँदा अलमलिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना त्यसले कार्यालयको कामलाई पनि प्रभावित गरिरहेको बताउँछन् ।
Advertisement 3
‘हामीहरू यता उहाँहरू उता हुँदा तत्काल सल्लाह लिनुपर्ने कामहरूमा बाधा आइहाल्छ । सेवाग्राहीहरू पनि सानो कामको लागि यता उता गरिराख्नुपर्ने हुन्छ,’ उनले भने ।
यसका साथै गाउँपालिका कार्यालयका कतिपय शाखाहरू पनि फरक–फरक स्थानमा सञ्चालित छन् । कृषि, पशु, शिक्षा र स्वास्थ्य शाखाहरू निर्माणाधीन प्रशासकीय भवनकै नजिक पुराना भवनमा सञ्चालन भइरहेका छन् । सेवाग्राहीहरूलाई कतिपय कामहरूका लागि ती शाखामा पुगेर पुनः करिब दुई किलोमिटर टाढा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयमा पुग्नुपर्ने अवस्था छ ।
५ करोड १८ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरिएको नयाँ भवन निर्माणको काम अहिलेसम्म ८० प्रतिशत पूरा भएको गाउँपालिकाको दाबी छ । निर्माण कम्पनी एमके जुगल जेभीले ३ करोड २५ लाख २३ हजार भुक्तानी लगिसकेको छ । निर्माणाधीन भवनमा विद्युत्, खानेपानी, पाइप जडान, झ्यालमा ग्रिल र ग्लास राख्ने तथा रङरोगन गर्ने काम बाँकी नै छ । बहुवर्षीय योजनामा राखिएको उक्त भवनको निर्माण कार्यका लागि पटकपटक म्याद थप्दै अन्तिम म्याद २०८१ असोज मसान्त तोकिएको थियो ।
तर, चालु आर्थिक वर्षमा निर्माण कम्पनीले काम नै गरेन । गाउँपालिकाका प्रशासकीय अधिकृत रानाका अनुसार असोज मसान्तमा पनि काम सम्पन्न नगरेपछि कालोसूचीमा किन नराख्ने भनेर स्पष्टीकरण सोधिएकोमा निर्माण कम्पनीले मंसिर २५ गतेसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने वाचा गरेको छ ।
उक्त अवधिमा काम सम्पन्न नगरेमा कम्पनीलाई कालोसूचीमा राखेर आवश्यक थप कारबाही अघि बढाइने रानाको भनाइ छ । निर्माण कम्पनीले महँगी र आर्थिक संकटले काम गर्न नसकेको जबाफ दिएको उनले बताए । निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझा बीचमा आल्मुनियमलगायतका सामानको परिमाणमा फेरबदल गरिएको र त्यसमा विवाद हुँदा काममा ढिलाइ भएको बताउँछन् । गाउँपालिकाकी इन्जिनियर सोनु शाहले परिमाण थप भएसँगै असार महिनामै भेरिएसन गरिसकिए पनि निर्माण कम्पनीले काम नगरेको बताइन् ।
खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक तुफान निर्माण कम्पनीलाई अन्तिमपटक मौका दिइएको बताए । काम नभएमा कम्पनीलाई कारबाही गरिने उनी बताउँछन् । अध्यक्ष विकले अहिले कार्यालय चलिरहेको भवन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई दिइसकिएकाले चाँडोभन्दा चाँडो नयाँ भवनमा कार्यालय सार्ने प्रयास भइरहेको पनि दाबी गरे । ‘नवनिर्मित भवनकै परिसरमा टिनले छाएर टहरा बनाउँदै छौँ । त्यसैमा भए पनि कार्यालय सार्छौँ । नयाँ भवनमा सर्न हामी आतुर छौँ,’ अध्यक्ष विकले भन्नुभयो ।






प्रतिक्रिया दिनुहोस्