खजुरा : बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ।
Advertisement 1
गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, समवेधनशील अध्ययनको आधारमा खजुराका सबै आठ वडालाई विशिष्ट बाली उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको हो।
Advertisement 2
खजुरा गाउँपालिका वडा नं १ मा बेसार, वडा २ मा टमाटर, वडा ३ मा काँक्रो र अन्य तरकारी, वडा ४ मा च्याउ र धान, वडा ५ र ६ मा धनिया र विविध तरकारी, वडा ७ मा लसुन र प्याज तथा वडा ८ मा आलु उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ।
Advertisement 3
खडकाका अनुसार, यी पकेट बालीहरूलाई निरन्तरता दिँदै कृषि पेशालाई व्यवस्थित बनाउने लक्ष्यका साथ गाउँपालिकाले कृषक समूह तथा दर्ता भएका फर्महरूलाई अनुदानमा कृषि यन्त्र सामग्री वितरण गरेको हो। हालै सम्पन्न एक भेलामार्फत ५० जना कृषकमध्ये २५ जना ‘कृषक पाठशाला’का लागि छनोट गरिएको थियो। सोही आधारमा गाउँपालिकाभित्रका ८ वटा कृषक समूह र करिब १५ वटा फर्मले मिनी टिलर, कालो पाइप र सिँचाइ उपकरणजस्ता कृषि यान्त्रीकरण सामग्री पाएका छन्।
“पकेट प्रणालीमार्फत विशेष बालीको निरन्तरता, उत्पादन वृद्धिको स्थायित्व र कृषि रोजगारीमा विस्तार हाम्रो प्रमुख लक्ष्य हो,” खडकाले भनिन्।
स्थानीय तहको नेतृत्वमा प्रविधिको पहुँच गाउँस्तरसम्म पु¥याउने प्रयासका रूपमा हेर्ने हो भने, खजुराको यो कार्यक्रम कृषिमा यान्त्रीकरणको सफल अभ्यास बन्ने सम्भावना देखिएको छ। तर दीर्घकालीन प्रभावका लागि उत्पादनसँगै बजारीकरण, भण्डारण र मूल्य स्थायित्व जस्ता पक्षमा पनि एकसाथ ध्यान दिन आवश्यक देखिन्छ।






प्रतिक्रिया दिनुहोस्