२०८२ फाल्गुन १८, सोमबार ०५:०४ गते
नेपाली समय

बाँके–२ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट युवा नेता दिपेन्द्र बिष्टको उम्मेदवारी दर्ता

२०८२ माघ ७ गते, मंगलवार समय: २१:२९ मिनेट

बाँके जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट युवा नेता दिपेन्द्र बिष्टले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गरिएको पार्टीले जनाएको छ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार बिष्टले श्रमिक, किसान, युवा तथा निम्न वर्गका नागरिकका हक–अधिकारका लागि सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, सार्वजनिक सेवामा पारदर्शिता तथा भ्रष्टाचारविरुद्धको कठोर अभियानलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको बताए।
नेपाली कम्युनिस्ट पार्टीका अनुसार बाँके–२ मा स्थापित राजनीतिक शक्तिहरूको विकल्पका रूपमा जनआधारित कम्युनिस्ट धारलाई मजबुत बनाउने उद्देश्यले बिष्टलाई उम्मेदवार बनाइएको हो। पार्टी नेतृत्वले युवा नेतृत्वको अग्रसरताले क्षेत्रको राजनीतिक चेतना थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
उम्मेदवारी दर्ताका क्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उम्मेदवारी दर्तासँगै बाँके–२ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ भने निर्वाचन प्रतिस्पर्धा थप तीव्र हुने संकेत देखिएको छ।

सम्बन्धित समाचार