जनादेश संवाददाता खजुरा, बाँके
बाँके जिल्लाका ८ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै पहिलो बन्न सफल भएको छ। स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन, र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुराले अन्य सात पालिकालाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको हो।
खजुराको यो ऐतिहासिक सफलतालाई पालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले ‘सामूहिक प्रयास र इमान्दारिता’ को परिणामको रूपमा व्याख्या गरेका छन्।
नेतृत्वको भनाइ: सुशासन र विकासको एजेण्डा सफल
अध्यक्ष डम्बर बहादुर विकले यस उपलब्धिलाई खजुरावासीको जीतका रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले निर्वाचनका बेला गरेका प्रतिबद्धता र जनतालाई केन्द्रमा राखेर गरिएका कामहरूको प्रतिफल आज देखिएको छ। जिल्लामै पहिलो हुनुले हामीलाई थप जिम्मेवार बनाएको छ।”
त्यस्तै, उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन र लक्षित वर्गको कार्यक्रममा पारदर्शीता अपनाइएकाले यो सफलता सम्भव भएको बताउनुभयो। “हामीले विकास निर्माणमा गुणस्तर र बजेटको सही सदुपयोगमा कुनै सम्झौता गरेनौँ, त्यसैको नतिजा आज स्कोरमा देखिएको हो,” उहाँले भन्नुभयो।
प्रशासनिक तर्फबाट नेतृत्व गरिरहनुभएका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको मेहेनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयलाई श्रेय दिनुभयो। उहाँले भन्नुभयो, “प्रशासनिक सुशासन र समयमै काम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकासले खजुरालाई यो उचाइमा पुर्याएको हो।”
यस्तै, वरिष्ठ लेखा अधिकृतले वित्तीय अनुशासनका बारेमा बोल्दै भन्नुभयो, “हामीले बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलता अपनाएका थियौँ। आर्थिक पारदर्शिता नै हाम्रो सफलताको मुख्य कडी हो।”
यस्तो छ बाँकेका पालिकाहरूको रिपोर्ट कार्ड:
खजुराले ७१.९९ प्रतिशतका साथ जिल्लाको नेतृत्व गरिरहँदा डुडुवा गाउँपालिका भने पुछारमा देखिएको छ।
स्थान पालिकाको नाम स्कोर (प्रतिशत)
खजुरा गाउँपालिका ७१.९९
२ कोहलपुर नगरपालिका ६५.७६
३ बैजनाथ गाउँपालिका ६४.०६
४ जानकी गाउँपालिका ५८.६७
५ नेपालगञ्ज उपमहानगरपालिका ५६.४५
६ राप्ती सोनारी गाउँपालिका ५४.००
७ नरैनापुर गाउँपालिका ५२.११
८ डुडुवा गाउँपालिका ४९.९७
जिल्लाको एकमात्र उपमहानगरपालिका नेपालगञ्ज ५६.४५ प्रतिशतका साथ पाँचौँ स्थानमा रहँदा ४९.९७ प्रतिशत अंक ल्याएको डुडुवा गाउँपालिकाले भने आफ्नो कार्यसम्पादनमा निकै सुधार गर्नुपर्ने देखिएको छ। खजुराको यो सफलताले छिमेकी पालिकाहरूलाई समेत सुशासनको मार्गमा अघि बढ्न प्रेरणा दिएको छ।




प्रतिक्रिया दिनुहोस्