बाँके –
Advertisement 1
बाँकेको कोहलपुर नगरपालिकाले नगरमा राखिएका अनाधिकृत प्रचारप्रसारका सामग्री हटाउने अभियानलाई तीव्रता दिएको छ । कोहलपुरको नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनाधिकृतरुपमा राखिएका प्रचार सामग्री हटाउने अभियानलाई आक्रामक बनाएको हो ।
नगरपालिकाको स्वीकृति विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरी राखिएका त्यस्ता प्रचार सामग्रीविरुद्ध नगर प्रहरी एक्सनमा आएको हो ।
Advertisement 2
नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । विज्ञापन प्रयोजनका लागि अनाधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ ।
अनाधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारबाहीको दायरामा ल्याइ १६ हजार जरिवाना गरेको प्रहरी प्रमुख थापाले बताए । थापाका अनुसार सिभिल बैंकले नगरपालिकासँग स्वीकृति नलिएरै विद्युतका पोलहरुमा ३२ वटा होर्डिङ बोर्ड राखेको भने ।
Advertisement 3
नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्बन्धित निकायलाई बुझाउने गरेको छ ।
नगरपालिकाको स्वीकृति विना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारबाही गरिने पनि थापाले चेतावनी दिएका छन् ।
कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदन चोक क्षेत्र भित्रका अधिकांश प्रचार सामग्री हटाइएको पनि थापाले बताए ।
त्यस्तै नगर प्रहरीले फुटपाथ पनि खाली गराउने अभियानलाई सँगै अगाडि बढाएको छ । कोहलपुर चौराहदेखि साझा चोकसम्मको फुटपाथ खाली गराइएको छ । फुटपाथमा राखिएका अधिकांश पसल र ठेलाहरु हटाइएको छ ।
थापाका अनुसार अहिलेसम्म कोहलपुर चौराह, कोहलपुर नगर विकासको कार्यालय अगाडि, कृषि हाटबजार अगाडि फुटपाथ अतिक्रमण गरेर बसेका पसल र ठेला व्यवसायी हटाइसकिएको छ ।
यस्तै कोहलपुर चौराहदेखि पाँच सय मिटर वरपरको क्षेत्रमा सवारी साधन रोक्न निषेध गरिएको छ । सवारी साधन जथाभावी रोक्ने, यात्रुहरु चढाउने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेपछि नगर प्रहरीले चौराह क्षेत्रको पाँच सय मिटर वरपर सवारी साधन रोक्न निषेध गरेको हो ।
त्यसको कार्यान्वयनका लागि नगर प्रहरीनै ड्युटीमा खटिने गरेको पनि उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्