२०८२ फाल्गुन २६, मंगलवार २३:५३ गते
नेपाली समय

अफसरुला मृत्यु काण्ड : हत्या की आत्महत्या ?

२०७९ मंसिर १५ गते, बिहीबार समय: ०८:१८ मिनेट

पीडकलाई बचाउन प्रदेश सांसददेखि प्रहरी प्रमुखसम्मको दबाब आरोप

Advertisement 1

विक्रम बुढाक्षेत्रीबाँके

कात्तिक १६ गते बुधबार बिहान ६ बजे राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, पिप्रहवा घर भएकी अफसरुला खाँ आफ्नै घरमा भुण्डिएको अवस्थामा मृत फेला परिकी थिइन् । हाल मृतक अफसरुलाका बुबा मो.बहाब खाँले मृतक अफसरुलाका श्रीमान मेराज शेष र श्रीमानका दाई (जेठाजु) आलमिन शेषमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन् र उनीहरु हाल प्रहरीको हिरासतमा रहेका छन् ।

Advertisement 2


तर बुबा मो. बहाब खाँ आफ्नी छोरीले आत्महत्या नगरेर उनलाई उनको परिवारले मारेको बताउँछन् । उनी जिल्ला प्रहरी कार्यालय बाँकेमा कर्तब्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराउन खोज्दा जिल्ला प्रहरी कार्यालयले जबरजस्ती आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका बताउँछन् ।

मृतक अफसरुला खाँको शब ।


घरपरिवारले ज्यान लिएको पीडितको आरोप

Advertisement 3


१२ पास गरेकी मृतक अफसरुला खाँको दुई वर्षअघि मेराज शेषसँग विवाह भएको थियो र हाल उनको ९ महिनाको छोरा रहेको छ । सो विवाहमा २५ लाख रुपैयाँ खर्च भएको मृतकका बुबा मो.बहाब खाँले बताए । सो २५ लाखमध्ये २० लाख रुपैयाँको नगद तथा विभिन्न सामान दाइजोको रुपमा केटापक्षलाई दिइएको मो. बहाब खाँले बताए ।
मो.बहाब खाँका अनुसार केटा पक्षले केटाको पठाई स्नाकोत्तरसम्म रहेको भन्दै झुक्याएर विवाह गरेका थिए ।


सोपश्चात पनि धेरैपटक मृतक छोरी अफसरुलाको माध्यामबाट उनका घरपरिवारले थप दाइजोका लागि दाबाब दिने गरेको मो.बहाब खाँले बताए । ‘हामीलाई सिधैं केही भन्ने गरेका थिएनन् । तर छोरीले सधैं कुरा गर्दा दाइजो कम भयो, अरु चाहियो भन्दै यातना दिने गरेकी थिई,’ मो.बहाब खाँले बताए ।

मृतक अफसरुलाका बुबा, आमा एवम् छिमेकी प्रदेश सभा सदस्यमा निर्वाचित कृष्ण केसी (नमुना)ले पीडकहरुलाई बचाउन प्रहरीलार्ई दबाब दिएको आरोप लगाएका छन् । मो.बहाब खाँले चुनावको समयमा आफ्नो भोट बढाउन कृष्णले कर्तव्य ज्यान मुद्दा दर्ता गर्न नदिएको र जाहेरीमा २ जनाको मात्र नाम राख्न लगाएको आरोप लगाए ।


दाइजोका कारण धेरैपटक मृतक अफसरुला सो घरमा बस्न नसक्ने स्थिति भएको बताउँदै आएको मो.बहाब खाँ बताउँछन् । तर आफूले सम्झाइ बुझाइ घर पठाउने गरेको उनले बताए ।


अफसरुलाको मृत्युको एकदिन अघि कात्तिक १५ गते बेलुका ७ः३० बजे पनि मो.बहाब खाँसँग मृतक अफसरुलाको कुरा भएको थियो । लगभग १५ मिनेट लामो कुराकानीमा पनि मृतक अफसरुलाले बुबा मो.बहाब खाँसँग आफूलार्ई मार्नसक्ने कुरा बताएको मो.बहाब खाँले बताए । उनले भने, ‘बेलुका लगभग १५ मिनेट कुरा भएको थियो । सो समयमा छोरीले आफूलाई मार्छन् भन्ने कुरा गरेकी थिई । हामीहरुले भोली बिहान हामी आउँछौं भन्ने कुरा गर्यो । फोनमा कुरा गर्दागर्दै उसले बोल्न छोडी तर त्यहा झगडा भइरहेको आवाज सुनिएको थियो । छोरी रोई रहेको जस्तो लागेको थियो ।’


मृतक अफसरुलाका छिमेकी पनि बेला–बेलामा दाइजोका नाममा अफसरुलालाई याताना दिने गरेको बताउँछन् ।


सोपश्चात बिहान मो.बहाब खाँले कात्तिक १६ गते छोरीको अवस्थाबारे जानकारी आएको बताए ।


कर्तब्य ज्यानमा प्रहरीले मुद्दा दर्ता गरेन


घटनापश्चात मो.बहाब खाँ १६ गतेदेखि आफ्नो छोरीलाई मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा धाउन थाले । तर जिल्ला प्रहरीले उल्टै उनलाई नै हकारेर पठाएको उनी बताउँछन् । यहासम्म प्रहरीले उजुरीमा दुईजना भन्दा बढीको नाम राख्न नपाइने भन्दै आफूलाई दबाब दिइएको मो.बहाब खाँ बताए ।


‘सुरुमा मैले मेराज शेष, मेराजको बुबा नजिर अहमद शेष, मेराजको दाई आलमिन शेष, मेराजको दिदी साजरुन शेष, मेराजको भाउजु हसिना शेष गरी ५ जनाको नामसहित कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा कर्तब्य ज्यानको मुद्दा दर्ता गर्न गएको थिए । तर प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी ज्यूले उल्टै हामीलाई थर्काउँदै तिमीहरुले जे भने त्यही हुन्छ भन्नुभयो,’ मो. बहाब खाँले भने, ‘त्यसपछि फेरि कात्तिक १७ मेराज शेष, मेराजको दाई आलमिन शेष र मेराजको भाउजु हसिना शेष गरी ३ जनाको नाम लिएर कर्तब्य ज्यान मुद्दा दर्ता गराउन गयो । त्यो दिन पछि हामीलाई मुद्दा दर्ता गराउन दिइएन । यो आत्महत्या हो । आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता हुन्छ । दुईजनाको मात्र नाम ल्याउन भनेर इन्स्पेक्टरले पनि थर्काए । अनि कात्तिक १८ गते हामीले दुईजनाको नाम लिएर गयो । तर श्यामकृष्ण अधिकारी ज्यूले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनु भयो ।’


वरिष्ठ वकील भोलासिंह हमाल मृत्यु मुद्दाको सन्दर्भमा २ जनाको मात्र नाम भन्ने नहुने बताउँछन् ।

प्रहरीको शब मुचुल्का ।


अपूर्ण प्रहरीको मुचुल्का


जिल्ला प्रहरी कार्यालय बाँकेको घटनास्थल लाश जाँच मुचुल्का अनुसार मृतक अफसरुला ६ कोठे आफ्नै घरको पूर्वतर्फका २ वटा कोठा छाडी तेस्रो कोठाको उत्तर–दक्षिण मोहडामा रहेको विस्तारासहितको पलङमाथि रहेको पंखामा हरियो रंगको दोपट्टामा भुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार सो घरको ढोका बन्द रहेको र प्रहरीले धक्का लगाएर ढोका खोलेको थियो ।


प्रहरीको लाख जाँच मुचुल्कामा मृतक अफसरुलाको घाटीमा लगाइएको पासो खोलेर भुईमा राखेर जाँच गर्दा मृतकको ढाड, पिठ्युको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरु रहेको उल्लेख गरिएको छ ।


तर मृतक अफसरुलाको दायाँपट्टीको कानमा देखिएको घाउँ भने मुचुल्कामा उल्लेख गरिएको छैन । अर्को महत्वपूर्ण मृतक अफसरुलाको दायाँपट्टीको कानमाथि टाउँकाम देखिएको गहिरो चोट पनि मुचुल्कामा उल्लेख गरिएको छैन । जुन चोट धारिलो हतियारले प्रहार भएको जस्तो देखिन्छ ।


र मुचुल्कामा पिठ्युको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरु रहेको उल्लेख गरिएको विवतरण पनि पूर्ण छैन । उनको पिठ्युमा ४ भन्दा बढी डामहरु रहेको देखिन्छ । जुन हत्केलाले नभई केही वस्तुले प्रहार गरेको जस्तो देखिन्छ ।


प्रहरीले बनाएको मुचुल्काले सरकारी मुद्दा सम्बन्धी ऐनलाई सार्थकता दिएको देखिँदैन । ऐनको ११ उपदफा १ (ग) मा लाशमा कुनै घाउ, चोट, नील वा डाम देखिएमा त्यस्तै घाउ, चोट, नील वा डाम देखिएको ठाउँ, संख्या, लम्बाई, चौडाई, गहिराई समेतको प्रत्येक घाउ, चोक, नील डामको विवरण र मृत्यु गराउने सम्भावित साधान र सहायता हुने लाशमा देखिएको अन्य कुनै लक्षण मुचुल्कामा उल्लेख गर्नुपर्ने भनिएको छ ।


तर जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो मुचुल्कामा मृतक अफसरुलाको लाशमा देखिएका सबै घाउ, चोटलाई मुचुल्कामा उल्लेख गरेको छैन ।


मुचुल्काका विषयमा वरिष्ठ वकील भोलासिंह हमाल पनि प्रहरीले पीडकलाई बचाउने तरिकाले लाश जाँच मुचुल्का बनाएको बताउँछन् । मृतकको शरीरमा भएका सबै घाउ, चोटलाई मुचुल्कामा उल्लेख नगरिएको उनले बताए ।

टाउको र कानमा लागेको चोट । जुन प्रहरीको मुचुल्कामा उल्लेख छैन ।


पीडकलाई बचाउन प्रदेश सासद ‘नमुना’ले दबाब दिएको आरोप


मृतक अफसरुलाका बुबा, आमा एवम् छिमेकी प्रदेश सभा सदस्यमा निर्वाचित कृष्ण केसी (नमुना)ले पीडकहरुलाई बचाउन प्रहरीलार्ई दबाब दिएको आरोप लगाएका छन् । मो.बहाब खाँले चुनावको समयमा आफ्नो भोट बढाउन कृष्णले कर्तव्य ज्यान मुद्दा दर्ता गर्न नदिएको र जाहेरीमा २ जनाको मात्र नाम राख्न लगाएको आरोप लगाए ।


त्यस्तै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक शाहले पनि प्रहरीलाई दबाब दिँदै पीडकलाई बचाउने प्रयास गरेको उनीहरुको आरोप छ ।

जिल्ला अदालत बाँकेमा आएका पिडित पक्ष


पैसा लिएर मेलमिलाप गराउने प्रयास


अफसरुलाको मृत्युपछि दुईपटकसम्म मृतकका बुबा मो.बहाब खाँलाई पैसा लिएर घटनाको मेलमिलाप गराउन प्रयास गरिएको छ । मृतक अफसरुलाको श्रीमान मेराजका आफन्त पर्ने भारतीय नागरिकले मो.बहाब खाँलाई पैसाको लोभ देखाएका थिए भने अन्य एकजनाले पनि उनलाई पैसा लिएर घटनाको मेलमिलाप गराउने प्रयास गरेका थिए ।

सम्बन्धित समाचार