२०८२ मंसिर २३, सोमबार १५:२८ गते
नेपाली समय

सभापति देउवा र महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा भिड्दै

२०७९ पुष ५ गते, मंगलवार समय: १४:३६ मिनेट

काठमाडौं –

Advertisement 1


भोली (बुधबार) नेपाली कांग्रेस संसदीय दलको मतदान हुँदैछ । जसका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।


कांग्रेसमा संसदीय दलको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।

Advertisement 2


सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता शेखर कोइराला नेतृत्वको समूहले पनि महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएको हो ।


यता नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले भने आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने यकिन गरेका छैनन् ।

Advertisement 3


महामन्त्री थापाले चुनाव अगावै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । तर, चुनावपछि भने कोइराला आफैँलाई उम्मेदवार बन्न समूहभित्रै दबाब सिर्जना गराए पनि लामो छलफलपछि कोइरालाले नै थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।


संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।


कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

सम्बन्धित समाचार