२०८२ मंसिर २२, आईतवार १३:४० गते
नेपाली समय

नरैनापुरमा नेपाली भाषाको समस्या हट्दै

२०७९ पुष १८ गते, सोमबार समय: ०९:२० मिनेट

नरैनापुरका स्थानीयमात्र नभई केही समयअघि गाउँपालिकामा रहेका विद्यालयका शिक्षकहरु पनि नेपाली भाषा बोल्न अप्ठ्यारो मान्ने गर्थे ।

Advertisement 1

विक्रम बुढाक्षेत्री – बाँके


नरैनापुरले नेपाली भाषालाई प्राथमिकता दिएको कुरा झट्ट सुन्दा अनौठो लाग्छ । विगतमा नेपालगन्ज सहरदेखि सम्बन्ध विच्छेद जस्तै रहेको नरैनापुर गाउँपालिकाले आफूलाई परिमार्जित गर्दै विकासको बाटोमा डोराई रहँदा पालिकाको शैक्षिकस्तरलाई बढाउँदै नेपाली भाषालाई पनि प्राथमिकता दिएको हो ।

Advertisement 2


मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको नरैनापुरमा अधिकांश स्थानीयको बोलीचाली भाषा मधेसी नै हो । त्यसमा पनि नेपालगन्जसँग सम्बन्ध नहुँदा नरैनापुर पूर्णरुपले भारतीय बजारसँग जोडिएको थियो ।


नेपाली भाषाका विषयमा नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक शाह स्वयम् ५ वर्ष अघिसम्म आफूलाई नेपाली भाषा बोल्नमा समस्या हुने गरेको बताउँछन् । ‘अहिले म कति राम्रोसँग नेपाली भाषा बोलिरहेको छु,’ उनले हाइवेपोष्टलाई भने, ‘५ वर्ष अघिको कुरा गर्ने हो भने मलाई पनि नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन थियो ।’

Advertisement 3


नरैनापुरका स्थानीयमात्र नभई केही समयअघि गाउँपालिकामा रहेका विद्यालयका शिक्षकहरु पनि नेपाली भाषा बोल्न अप्ठ्यारो मान्ने गर्थे । उनीहरु नेपाली विषयसमेत मधेसी भाषामा पठाउने गरेको नरैनापुर गाउँपालिका–२, लक्ष्मणापुरमा रहेको आर्दश माध्यमिक विद्यालयका प्रध्यानाध्यापक त्रिलोकनाथ मौर्य बताउँछन् ।


विषयगत शिक्षकको दरबन्दी बढाउँदै पालिका


पालिकाको वडा नम्बर २, पचपनागाउँका सुन्दरलाल मौर्य आर्दश माविको कक्षा ८ मा अध्ययन गर्छन् । मधेसी समुदायका विद्यार्थी मौर्य अहिले प्रष्ट नेपाली बोल्छन् र लेख्छन् पनि । नरैनापुरले विद्यालयमा नेपाली विषयको शिक्षक दरबन्दी गरेपछि मौर्यलाई नेपाली भाषा बुझन्, पढ्न र लेख्न धेरै नै सहज भएको छ ।


मौर्य भन्छन्, ‘पहिला–पहिला त हामीलाई नेपाली भाषा लेख्न जाने पनि बोल्न अप्ठ्यारो लाग्थ्यो । अहिले नेपाली व्याकरण, शुद्धाशुद्धि जानी सकेका छौं ।’


आर्दशमा माध्यामिक तहकी नेपाली शिक्षक चन्द्रा केसीले पढाउन थालेको करिब १ वर्ष जति भयो । उनी आफूलाई पनि सुरु–सुरुमा विद्यार्थीलाई नेपाली भाषा पढाउन अप्ठ्यारो भएको बताउँछिन् ।


‘सुरुमा त विद्यार्थीहरुले बोलेका केही शब्द मलाई बुझ्न धेरै नै गाह्रो हुन्थ्यो । सरहरुलाई यो भनेको केहो भनेर सोध्थेँ र त्यसलाई नेपाली बताउने गर्थेँ,’ शिक्षक केसीले भनिन्, ‘अहिले विद्यार्थीले पनि धेरै सिकिसकेका छन् । नेपाली व्याकरण पनि धेरै जानी सकेका छन् ।’


आदर्श विद्यालयको कुरा गर्दा २०७६ सम्म विद्यालयमा बढीमा १८ जना विद्यार्थी आउने गरेको प्रध्यानाध्यापक मौर्य बताए । हाल आदर्शमा ७ सय जना विद्यार्थीको भर्ना रहेको उनले बताए ।


नरैनापुरले पालिकामा रहेका विद्यालयमा विषयत शिक्षक दरबन्दीलाई विशेष जोड दिएको शिक्षाा शाखा प्रमुख कृष्णकुमार थारु बताउँछन् । पालिकाले आर्दशमा मात्रै २०७६ पछि नौजना कर्मचारी थप गरिसकेको छ भने अन्य विद्यालयमा पनि आवश्यकता अनुसार शिक्षक थप गरिरहेको थारुले बताए ।


‘नरैनापुरले विगत ५ वर्षमा शिक्षा सुधारका लागि विशेष जोड दिएको छ । पालिकाले सबैभन्दा बढी कर्मचारी विद्यालयमा नै थप गरेको छ,’ थारुले भने ।


पालिकाले ५ वर्षमा शिक्षकमात्रै थप गरेको छैन । पालिकामा रहेका हरेक विद्यालय यो ५ वर्षमा भर्ना हुने र उपस्थित हुने विद्यार्थीको संख्या सय प्रतिशतभन्दा बढी रहेको छ । अझ नरैनापुरले वडा २, मियापुरवामा कन्या विद्यालय खोल्ने तयारी गरिहेको छ । लगभग ५ करोडको लागानीमा कक्षा १२ सम्म अध्यापन गराउने उद्देश्यका साथ पालिकाले कन्या विद्यालय खोल्न लागेको हो । जसका लागि नरैनापुरले २० कट्ठा जमिनसमेत छुट्याइसकेको अध्यक्ष शाहले जानकारी दिए ।

सम्बन्धित समाचार