२०८२ माघ २, बिहीबार ०७:५५ गते
नेपाली समय

खजुरा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, २५ प्रतिशत बजेट खर्च र सेवा सुधारको प्रतिबद्धता

२०८२ पुष १८ गते, शुक्रबार समय: १३:०२ मिनेट

खजुरा (बाँके) — स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८(५) बमोजिम खजुरा गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।

Advertisement 1

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट सम्पादन भइरहेका योजना, कार्यक्रम, सेवा सुविधा तथा आर्थिक प्रगतिबारे जानकारी खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पाैडेलले जानकारी गराउनु भएको थियोे ।सेवाग्राही नागरिक  र सरोकारवालाबीच प्रत्यक्ष सवाल–जवाफ र दोहोरो संवाद गरिएको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले सेवा प्रवाह, योजना कार्यान्वयन र प्रशासनिक प्रक्रियासम्बन्धी जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/०८३ को पौष ८ गतेसम्म कुल ८४ करोड ८० लाख रुपैयाँ बजेटमध्ये २५ प्रतिशत खर्च भएको छ। हालसम्म गाउँपालिकाको वास्तविक आय ३४ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन ४१.४१ प्रतिशत हो। चालु तर्फ ३५ प्रतिशत र पुँजीगत तर्फ ४ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।

Advertisement 2

योजना तथा पूर्वाधारमा प्रगति

यस आर्थिक वर्षमा २८ वटा योजना टेण्डर प्रक्रियामार्फत कार्यान्वयनमा रहेका छन् भने गत वर्षबाट अ.ल्या भएका १० वटा योजना सम्पन्न भएका छन्। बहुवर्षीय योजनामध्ये बहुउद्देश्यीय सभाहल सम्पन्न भइसकेको छ भने १५ शैय्याको अस्पताल, शित भण्डार र प्रशासनिक भवन निर्माण कार्य जारी रहेको छ।

Advertisement 3

हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा ८६० थान विद्युतिय चुलो र ३०० थान सुधारिएको चुलो वितरणको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उल्लेखनीय काम

शिक्षा तर्फ विभिन्न विद्यालय भवन निर्माण, सामाजिक परीक्षण, शिक्षक तालिम, मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गरिएको छ।

स्वास्थ्य तर्फ जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, आमा–शिशु सुरक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा नियमित स्वास्थ्य अनुगमन कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जानकारी दिइयो।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा तर्फ अपाङ्गता परिचयपत्र वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ।

रोजगार, विपद् व्यवस्थापन र सुशासन

रोजगार सेवा केन्द्रमार्फत न्यूनतम १०० दिन रोजगारी कार्यक्रम, वैदेशिक रोजगारी सहजिकरण तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। विपद् व्यवस्थापन अन्तर्गत बाढी, आगलागी र डुबानबाट प्रभावित परिवारलाई राहत तथा मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका नेतृत्वले सीमित स्रोतसाधनका बाबजुद सुशासन, पारदर्शिता र सेवा सुधारमा निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै आगामी दिनमा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच विश्वास र सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार