खजुरा बाँके /
Advertisement 1
बाँकेको खजुरा गाउँपालिकाले स्थानीय सरकार सञ्चालनको यात्रामा नयाँ अध्याय सुरु गर्दै पहिलो पटक आफ्नै प्रशासनिक भवनबाट गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। मिति २०८२ साल पौष २१ गते सम्पन्न अधिवेशनलाई खजुरा गाउँपालिकाको संस्थागत सुदृढीकरण र आत्मनिर्भर प्रशासनिक अभ्यासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
लामो समयदेखि अस्थायी तथा बाह्य संरचनामा सीमित हुँदै आएको गाउँसभा अब आफ्नै भवनमा सञ्चालन हुनु स्थानीय सरकारको परिपक्वता, स्थायित्व र व्यवस्थागत क्षमताको स्पष्ट संकेत हो। अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति प्रतिवेदनमाथि गहन समीक्षा गर्दै नयाँ राजश्व दररेट थप, विद्यमान ऐन, कार्यक्रम तथा योजनामा आवश्यक संशोधन प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको छ।
Advertisement 2
अधिवेशनमार्फत खजुरा गाउँपालिकाले सुशासन, वित्तीय अनुशासन र जनमुखी विकासलाई थप सुदृढ बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ। आफ्नै भवनबाट नीति निर्माण र निर्णय प्रक्रिया सञ्चालन हुनु जनताको करबाट निर्माण गरिएको संरचनाको सदुपयोग मात्र नभई स्थानीय स्वशासनको आत्मसम्मान र अधिकारको सशक्त अभ्यास भएको सरोकारवालाहरूको धारणा छ।
१८औँ गाउँसभा अधिवेशनको सफल समापनसँगै खजुरा गाउँपालिकाले नीति कार्यान्वयनलाई तीव्रता दिने, सेवा प्रवाहलाई परिणाममुखी बनाउने र विकास निर्माणमा प्रभावकारी निर्णय लिने दिशामा थप सक्रिय हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्