२०८२ माघ २, बिहीबार ०७:५५ गते
नेपाली समय

खजुरा गाउँपालिकामा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ पुष २३ गते, बुधबार समय: २३:०७ मिनेट

खजुरा

Advertisement 1

लागू औषध दुरुपयोग तथा ओसार–पसार नियन्त्रणलाई स्थानीय तहबाट संस्थागत र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ

खजुरा गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Advertisement 2

कार्यक्रम नागरिक आरोग्य सेवा केन्द्र अन्तर्गत आयुर्वेद शाखाको योग तथा तालिम हल, खजुरा–३ मा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता खजुरा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक कृष्णाकुमारी पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ को उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातली, उच्च अदालत तुल्सीपुर बाँकेका अधिवक्ता युगबहादुर गुरुङ, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल तथा वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारको उपस्थिति रहेको थियो।

Advertisement 3

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य, शिक्षा, सुरक्षा निकाय, न्यायिक क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज, महिला समूह, स्वयंसेवी संस्था, सञ्चारकर्मी, विद्यार्थी तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा लागू औषधको बढ्दो दुरुपयोगले सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा पारिरहेको नकारात्मक प्रभाव, लागू औषध नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, कार्यान्वयनका चुनौती तथा स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गरिएको थियो।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ ले लागू औषध नियन्त्रणलाई खजुरा गाउँपालिकाको प्राथमिक एजेण्डाका रूपमा स्थापित गरिएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि नीतिगत निर्णय, संस्थागत समन्वय र समुदायस्तरीय सचेतनालाई सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लागू औषध विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सम्बन्धित निकायसँग सहकार्यलाई थप प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो।

कार्यक्रमकै अवसरमा खजुरा गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय धनौली, खजुरालाई लागू औषध परीक्षण किट हस्तान्तरण गरिएको छ। यसले लागू औषधको पहिचान, निगरानी तथा नियन्त्रण कार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

खजुरा गाउँपालिकाले लागू औषध नियन्त्रणलाई बहु–क्षेत्रीय साझा दायित्वका रूपमा ग्रहण गर्दै आगामी दिनमा नीति, कार्यक्रम तथा कार्यान्वयनका तहमा थप कडाइका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

सम्बन्धित समाचार